Monday, October 1, 2012

एमाओवादीभित्र चरम गुटवन्दी


काठमाडौं । एकीकृत माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच शितयुद्ध शुरु भएको छ । प्रधानमन्त्री डा. भट्टराईले सत्ताको आडमा पार्टी भित्र आफ्नोे एकछत्र प्रभाव जमाउने तर्फ विशेष पहल गरेका छन् । परिणामतः उनले राजनीतिक र कुटनीतिक नियुक्तिको सवालमा अध्यक्ष दाहालको सल्लाह समेत लिइरहेका छैनन् । त्यसको बदला अध्यक्ष दाहाल निकटस्थ केहीलाई ‘क्याम्प परिवर्तन’ को सर्तमा लाभका पदमा नियुक्तिको प्रस्ताव राख्न थालिएको छ । यसको आभाष पाएका अध्यक्ष दाहाल प्रकारान्तरले किंकर्तव्यविमूढ बनेका छन् । गतः सोमवार दाहाल आकस्मिक रुपमा पोखरा पुगेको घटनाक्रमलाइृ एमाओवादीभित्र सोही रुपमा लिइएको छ ।
पहिले उपाध्यक्ष मोहन वैद्य निकटस्थको छवि बनाएका नवराज सुवेदी र भीमप्रसाद गौतमहरू यतिबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराइ क्याम्पका भित्रिया बन्नुलाई अध्यक्ष दाहाल निकटसथहरूले निक्कै अर्थपूर्ण मानेका छन् । डा. भट्टराईस“ग भड्किएर दाहाल निकट पुगेका प्रभु साह र राम कार्कीहरू पुरानै क्याम्पमा फर्किनु उत्तिकै अर्थपूर्ण छ । यतिसम्मकि अर्थमन्त्री वर्षमान पुनलाई समेत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो क्याम्पमा तान्न खोजेको दाहाल पक्षीयहरूले महसुस गरेका छन् ।
पार्टी भित्र गुटवन्दी ध्वस्त पार्ने प्रतिवद्धताका वावजुद प्रधानमन्त्री डा. भट्टराईबाटमजदुर फा“टमा आफ्नो गुटगत प्रभाव बढाउन थालेको दाहाल पक्षको आशंका छ । बदलामा दाहाल पक्षीय मजदूर नेता शालिकराम जमरकट्टेलले भट्टराई पक्षलाई कमजोर पार्न अदालतमा मुद्दा समेत हालेका छन् । जमरकट्टेलमाथि ज्यानलिने आक्रमण गर्नेहरूमाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णय एमाओवादीभित्र सर्वाधिक विवादमा फसेको छ । उक्त निर्णय खारेजीका विरुद्ध जमरकट्टेल अदालत गएको सन्दर्भलाई भट्टराई पक्षले उत्तिकै अर्थपूर्ण मानेको छ । अध्यक्ष दाहालकै निर्देशनमा जमरकट्टेल अदालत गएको डा. भट्टराई पक्षधरहरूले अनुमान गरेका छन् ।
अध्यक्ष दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच हरेक विधामा प्रतिस्पर्धा चुलिएको छ । यतिसम्मकि सरकारको नेतृत्वकै सवालमा समेत दाहाल र डा. भट्टराई पक्षधर नेताहरूले एकापसमा विरोधाभाषपूर्ण अभिव्यक्ति दिन थालेका छन् । डा. बाबुराम भट्टराई जति लामो समय प्रधानमन्त्री रहन्छन्, त्यति नै पार्टी भित्र आफूहरूको प्रभाव घट्छ भन्ने दाहालपक्षीय अग्रणीहरूको निष्कर्ष रहेको छ । त्यही वारेमा अन्तिम निर्णय लिन अध्यक्ष दाहाल पोखरा हानिएको ठान्नेहरू पनि कम छैनन् । महत्वपूर्ण निर्णय लिन अघि नया“ र एकान्त ठाउ“मा जान दाहालको विशेषता नै हो ।

No comments: