Friday, August 23, 2013

युवासंघको किचलोले एमालेमै चरम गुटवन्दी

काठमाडौं । एमालेका अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोख्रेलबीच टक्कर चलेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खनाललाई साथ दिएका छन् । अर्का नेता, केपी ओलीबाट महासचिव पोख्रेललाई उर्जा दिइएको छ । अशोक राईले पृथक पार्टी खोलेपछि बा“की रहेका दुई उपाध्यक्ष मध्ये वामदेव गौतम अध्यक्ष खनाल र वरिष्ठ नेता मावधुमार नेपाल सम्मिलित ‘टिममा’ लागेका छन् । उपाध्यक्ष विद्या भण्डारीबाट पनि पूर्ववत केपी ओली र इश्वर पोख्रेललाई साथ दिइएको छ । तीन मध्ये २ सचिव मध्ये युवराज ज्ञवाली र शंकर पोख्रेल ओलीकै पक्षमा छन् । अर्का सचिव विष्णु पौडेलबाट पछिल्लो विवादमा खुलेरै कतैतिर समर्थन जनाइएको छैन । आन्तरिक गुटवन्दीको पछिल्लो समीकरणमा अध्यक्ष खनाल पदाधिकारी भित्र अल्पमतमा परेका छन् । स्थायी कमिटीमा पनि खनालको स्पष्ट बहुमतको अवस्था छैन । पछिल्लो घडीमा ओली क्याम्पमा पुगेका महासचिव इश्वर पोख्रेलको कारणले खनाल स्थायी कमिटीमै अल्पमतमा पर्ने हुन् कि भन्ने पनि कुरा उठेको छ । युवासंघले अध्यक्ष झलनाथ खनालको निर्देशनको अवज्ञा गर्दै महिला युथफोर्स गठन गरेको छ । आगामी निर्वाचनमा एमालेलाई नम्बर १ को पार्टी बनाउन महिला युथफोर्स गठन गरेको युवासंघका अध्यक्ष महेश बस्नेत सहितका संस्थापन पक्षधरहरूले प्रचार गरेका छन् । निरुपालको नेतृत्व रहेको महिला युथफोर्सलाई अध्यक्ष खनालले वैद्यता दिन चाहेका छैनन् । वरिष्ठ नेता माधवकुमार नेपालबाट एमाले लडाकु फोर्सको आधारमा नभएर वैचारिक शक्तिको आडमा नम्बर १ बन्न अग्रसर शक्ति भएको बताउन थालिएको छ । ओली र इश्वर पोख्रेलको उर्जा पाएर गठित महिला तथा पुरुष युथफोर्स आफ्नै पार्टी भित्रको फरक मत माथि खनिन सक्ने खतराप्रति पार्टीका संस्थापन पक्षीय अर्थात् अध्यक्ष खनाल र वरिष्ठ नेता माधव नेपाल बढी चिन्तित भएका छन् । असन्तुष्ट युवा पक्ष समग्र संगठन भित्र अल्पमतको अवस्थामा छ । ओली पक्षीय महेश बस्नेतले च्यापिएकै कारणले उपाध्यक्ष बनेका झपट रावलले असन्तुष्ट पक्षको अगुवाइ गरेका छन् । यसअघिको त्रिकोणात्मक गुटवन्दीमा वरिष्ठ नेता माधवकुमार नेपालको निकटमा रहेका रावलको अभियानलाई खनाल र माधवका अतिरिक्त वामदेव गौतम, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले साथ दिएका छन् । जनवर्गीय संगठन मध्येको महिला, युवा, विद्यार्थी र मजदुरमा ओली पक्ष हावी छ । आगामी असोजको पहिलो साता सम्पन्न हुने भनिएको विद्यार्थी महाधिवेशन शान्तिपूर्वक सम्पन्न हुने अवस्था छैन । एमालेले चुनावी घोषणापत्र लेखनलाई गतिदिन सकिरहेको छैन । नेताहरू मत नमिलेका थुप्रै गम्भीर मुद्दा छन् । भदौमै राष्ट्रिय कार्यकर्ता भेला बोलाएर घोषणापत्रको अन्तिम टुंगो लगाउने यस अघिको निर्णय पनि कार्यान्वित हुनेमा आशंका उव्जिएको छ । असोजको पहिलो साताको लागि तय भएको विद्यार्थी संगठन अखिलको महाधिवेशन समेत स्थगनको संभावना धेरैले देखेका छन् । ओली पक्षले चुनावी नेतृत्वको सवालमा चर्कै गतिविधि शुरु गरेकाले पनि धेरैले भदौमै राष्ट्रिय भेला गरिने तथा असोजमा अखिलको महाधिवेशन हुनेमा शंका गरेका छन् । अध्यक्ष झलनाथ खनाल चुनावी नेतृत्व ओलीलाई दिने पक्षमा छैनन् । चुनावको ‘कमाण्डिङ’ गर्नेलाई निर्वाचन पछिको सरकार र पार्टीको नेतृत्वमा ‘विशेष–हक’ लाग्ने स्थापित प्रचलनले गर्दा पनि वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनाल बढी झस्किएका छन् । घोषणापत्र तथा पार्टीको चुनावी नीति राष्ट्रिय भेलाबाट पारित गराउने प्रस्ताव ओली पक्षबाटै राखिएको थियो । उतिबेला चुनावी नेतृत्वको विवाद आउने कल्पना समेत खनाल र माधव नेपालले गरेका थिएनन् । जटिलता गहिरिंदै गएपछि उनीह दुवै राष्ट्रिय भेलाको विपक्षमा उभिएका छन् । त्यसकै प्रतिफल अध्यक्ष खनालबाट चुनावी नेतृत्व आफैंले गर्ने बताउन थालिएको बुझ्न कठिन छैन ।

No comments: