Tuesday, April 19, 2011

राष्ट्रपतिले नेताहरूलाई भने- ‘जेठ १४ पछि के हुन्छ, प्रस्ट पारिदिनुस्'


काठमाडौं, वैशाख ७ (नागरिक)- राष्ट्रपति रामवरण यादवले जेठ १४ पछि के हुन्छ भन्ने जनतालाई प्रस्ट पारिदिन प्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग आग्रह गरेका छन्।
शितल निवासमा मंगलबार प्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै भेटका क्रममा राष्ट्रपति यादवले जेठ १४ पछिको अन्योलबारे प्रस्ट पार्न आग्रह गरेका हुन्।
राष्ट्रपतिले शान्ति र संविधानका प्रगतिबारे नेताहरू जिज्ञासा राखेक थिए। उनले शान्ति र संविधान निर्माण निर्धारित अवधिमा सम्भव नभए त्यसपछिको विकल्पबारे जनतालाई प्रस्ट पारिदिन पनि राष्ट्रपतिले जोड दिएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार संविधानसभा म्याद करिब एक महिना बाँकी रहेकाले त्यसपछि के हुन्छ भन्नेबारे प्रस्ट पार्न राष्ट्रपतिले आग्रह गरेका हुन्। ‘जनतालाई अन्योलमा राख्न हुँदैन, बेलैमा प्रस्ट पारिदिनुस्,' राष्ट्रपतिलाई उद्धृत गर्दै दाहालले भने।
यसअघि राष्ट्रपतिले प्रमुख दलका नेतालाई भेटका क्रममा शान्ति प्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गरेका थिए। नेताहरूसँग परामर्शप्रति खनालले चैत २६ गतेको भेटमा प्रधानमन्त्री खनालले ‘राष्ट्रपतिका प्रमुख सल्लाहकार प्रधानमन्त्री' भएको घुमाउरो शैलीमा असन्तुष्टि राखेका थिए।

No comments: