Monday, April 18, 2011

पत्रकार महासङ्घको महाधिवेशन रोक्न रीट दायर


काठमाडौं, यही वैशाख २० र २१ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन स्थगनको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रीट निवेदन दर्ता भएको छ। रिटमा महासङ्घको हालै सम्पन्न काठमाडौं शाखाको निर्वाचनका क्रममा पार्षद् छनौट प्रक्रिया विधान र निर्वाचन कार्यविधि निर्देशिकाविपरित भएको उल्लेख छ। त्यसैले विधिसम्मत ढङ्गले पार्षद् छनौट गरिनुपर्ने भन्दै त्यसको टुङ्गो नलागेसम्म केन्द्रीय महाधिवेशन रोक्न माग गरिएको छ। रिट दर्ता नम्बर ०९८४ रहेको छ। पत्रकार महासङ्घको विधानमा पार्षद्को चयन गोप्य मतदान प्रक्रियाबाट गरिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसको ठाडो उल्लङ्घन गरिएकाले सो अवैध निर्वाचन बदर गरी विधानसम्मत ढङ्गले पार्षद् चयन गराइनुपर्ने र त्यसपछि मात्र केन्द्रीय महाधिवेशन गराइनुपर्ने माग गर्दै काठमाडौं शाखाका सदस्यद्वय पूर्ण कार्की र राकेश मिश्रले रिट दायर गरेका हुन्।
यसअघि काठमाडौं शाखाको पार्षद् छनौट प्रक्रिया विधानविपरित भएको भन्दै निवेदकहरुले त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दर्ता गराएका थिए। विभिन्नखाले दबाबमा परी जिल्ला प्रशासन कार्यालयले निर्णय दिन नसकेपछि सो कार्यालयलाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता भएको हो। रिटमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमिति, केन्द्रीय निर्वाचन समिति, शाखा निर्वाचन समिति र काठमाडौं शाखालाई समेत विपक्षी बनाइएको छ।
सर्वोच्चमा दर्ता भएको यो रीटउपर प्रारम्भिक सुनुवाई बुधबार हुने भएको छ।

No comments: