Saturday, April 2, 2011

अलग हुने बाटोमा अञ्जु पन्त र मनोजराज


म एकदमै टेन्सनमा छु, एकपटक आउन मिल्छ,' -गायिका अञ्जु पन्तले एकाबिहानै मोबाइलमार्फत आग्रह गरिन् । उनको स्वरमा तनाव झल्कन्थ्यो । त्यसको केही समयपछि मनोजराजले पनि फोन गरे र सोधे, 'कतिबेला आउने हो ?' उनीहरू केही कुरा स्पष्ट गर्न हतारिरहेको प्रस्ट थियो । बिहानको साढे आठ बजे उनीहरूको निवास खोज्दै धुम्बाराही पुगियो । घरभित्र कुनै ठूलो घटनापछिको चकमन्नता थियो । भेटघाट हुँदा मुस्कुराइरहने मनोजको मुहारमा तनावको भाव थियो । अञ्जुका आँखा रसाएका थिए भने उनले आफ्नो मुख र नाक मास्कले छोपेकी थिइन् । मनोजकी आमाको अनुहारमा पनि चिन्ता देखिन्थ्यो । मनोज र अञ्जुकी एकमात्र नौ वषर्ीया छोरी परितोषिका विद्यालय जाने तयारीमा थिइन्, उनको मुहारमा पनि असमञ्जसताको भाव थियो ।
अनुमान लगाउन गाह्रो भएन— अघिल्लो रात मनोज र अञ्जुबीच नराम्रो विवाद भयो । 'गाह्रो भयो, मेरो कारणले अप्ठेरो हुन थाल्यो घरमा,' -अञ्जुले कुरा आरम्भ गरिन् । कोकिलकण्ठी गायिकाको स्वर त्यतिबेला भासिएजस्तो थियो । उनको कुरा पूरा हुँदा-नहुँदै मनोजले पनि गला अवरुद्ध भएको आवाजमा भने- 'हामीबीच अन्डरस्ट्यान्डिङ नै भएन ।' यो घटना फागुन २७ गते शुक्रबार बिहानको हो ।
के भएको थियो ?
'कस्तो मिलन भयो हाम्रो
दोबाटोमा हिंड्नुपर्ने
विछोडलाई स्वीकारेर
प्रेम सागर तर्नुपर्ने...'
केही समयअघि बुटवलमा आयोजित एक कार्यक्रममा यो गीत सँगै गाउँदा मनोज र अञ्जुका आँखा रसाएका थिए । अञ्जुको गला भरिएर गाउन नसक्दा-नसक्दै पनि उनले जेनतेन अन्तराहरू गाइन् । कारण अहिले स्पष्ट भएको छ । गीतका शब्दहरू उनीहरूको वास्तविक जीवनसँग निकै मेल खान्छन् ।
लोकपि्रय गीतहरूकी चर्चित गायिका अञ्जु पन्तले आफ्ना श्रीमान् मनोजराजसँग गाएको उक्त युगल गीत सम्भवतः उनीहरूको वैवाहिक जीवनको अन्तिम युगल गीत हुनेछ र हाल अमेरिकामा रहेका गीतकार रोशन पाल्पालीले लगानी गरिदिएको यो दम्पतीको दोस्रो युगल एल्बम 'कोसेढुंगा' पनि सायद अन्तिम नै पो हुने हो कि ? भन्ने शंका उब्जिएको छ । चलचित्र तथा संगीत क्षेत्रमा उनीहरू अलग भैसकेको वा अलग हुने सँघारमा रहेको चर्चा धेरै अघिदेखि सुनिँदै आए पनि त्यो वास्तविकतामा परिणत हुने क्रममा छ ।
भविष्यमा उनीहरूले एउटै गीतमा सुर मिलाउनेछैनन् । फागुन २७ गते बिहान गायिका पन्त आफ्नो दाइका साथ सामानहरू लिएर माइती गैसकेकी छिन् । तीन सातायता उनी मनोजसँगको दस वर्षे दाम्पत्य जीवनको अन्त्य गर्ने सोचमा घर छाडेर माइत बसिरहेकी छिन् र उतैबाट आफ्नो काममा जान्छिन् । उनीहरू एक-अर्कासँग टेलिफोन वा मोबाइल सम्पर्कमा समेत छैनन् । मनोजले एकतर्फी रूपमा सरसल्लाहका लागि पठाएका एसएमएसहरूको समेत अञ्जुले 'रेस्पोन्स' नगरिरहेको अवस्था छ । उनीहरूले त्यस्तो गहन निर्णय किन गरे त भन्ने कुरा बुझ्न अञ्जु र मनोजको वैवाहिक जीवनको पृष्ठभूमिलाई केलाउनुपर्ने हुन्छ ।
घटनाको पृष्ठभूमि पुरानो छ, झन्डै आठ वर्ष पुरानो । गायिका हुने संघर्षमा रहेकी अञ्जु पन्त तथा गायक बन्ने धुनमा लागेका मनोजराज शिवाकोटीको विवाह दस वर्षअघि भएको हो । एउटै लक्ष्य बोकेका यी दुईबीच प्रेम भयो । उनीहरूले विवाह गरेर सँगै संघर्ष गर्ने निधो गरे । ०५८ सालमा यी दुईको विवाह पनि भयो । त्यसको एक वर्षपछि उनीहरूको मायाको चिनो छोरी परितोषिकाको जन्म भयो । त्यसपछि दुवैबीच अझ माया बढ्छ भन्ने अनुमान विपरीत सामान्य विवाद हुन थाल्यो । उनीहरूकै अनुसार विवादले कहिलेकाहीं उग्र रूप लिन नखोजेको पनि होइन, तर केही दिनमा कुरा सामान्य हुन्थ्यो ।
विरहकै गीत गाएर चर्चा बटुलेकी गायिका पन्तको वैवाहिक जीवन पनि विरहयुक्त थियो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । जसको मूलकारण हो उनी र उनका श्रीमान् मनोजबीचको पारिवारिक कलह । चार वर्षयता एकपछि अर्को गीतमार्फत लोकपि्रयता पाइरहेकी गायिका पन्तको चरित्रमाथि अनावश्यक शंका-उपशंका गर्ने मनोजको बानी परिसकेको थियो । यो कुरा अञ्जु र मनोजलाई नजिकबाट चिन्ने प्रायः गीत-संगीतकर्मीहरूलाई थाहा छ । यसबीच अमेरिका सेटल हुने विचारले उता पुगेका मनोजराज केही महिनामै फर्किए । उनी फर्किएको डेढ महिनाजति भयो । गायन क्षेत्रमा सोचेजस्तो सफलता नपाएकाले मनोजले हरेस पनि खाइरहेका थिए । अञ्जु गीत गाएरै नम्बर एक गायिका हुनु, आफू भने गायन क्षेत्रमै लागेर पनि उनकै श्रीमान्को नामबाट चिनिनुलाई मनोज आफ्नो अपमान सम्भिmरहेका थिए । अञ्जुको आम्दानी पनि निकै राम्रो हुँदै गएको अवस्थामा उनले नै घरका प्रायः महत्त्वपूर्ण खर्च बेहोरिरहेकी थिइन् । भनिन्छ, मनोज यस्तै कारणहरूबाट 'डिप्रेसन'को सिकार भैरहेका थिए ।
आधुनिक नेपाली संगीत तथा चलचित्र संगीतमा भर्सटाइल मेलोडी गायिकाको अभाव थियो, जसको पूर्ति अञ्जु पन्तले गरिन् । भनिन्छ, अञ्जु सहजै चर्चाको शिखरमा पुग्नु र मनोजले सफलताका लागि वषार्ंै संघर्ष गरिरहनु मनोजलाई असह्य भैरहेको अवस्था थियो । त्यसो त मनोज निकै राम्रो गाउन सक्ने सम्भावना भएका गायक हुन् । विशेष गरी आधुनिक तथा गजल गायनमा उनी सफल पनि हुँदैछन् । ऋषिकेश मुखर्जीको चलचित्र 'अभिमान'को कथासँग धेरै हदसम्म मेल खान्छ अञ्जु र मनोजको दाम्पत्य जीवन । सन् १९७३ मा प्रदर्शन भएको उक्त चलचित्रमा सुविरकुमार र उमा गायन क्षेत्रमा हुन्छन् । उक्त दम्पतीमध्ये गायनमा सुविरलाई उमाले उछिन्दै जान्छिन् । उनको चर्चा सुविरकुमारको भन्दा बढी हुन थालेपछि उनीहरूबीच कलह उत्पन्न हुन्छ र दाम्पत्य जीवन नै बिथोलिन्छ । चलचित्र अभिमानमा अमिताभ बच्चन र जया भादुडी -बच्चन) ले अभिनय गरेका छन् ।
अञ्जुको चरित्रमा बिनाकारण शंका गर्ने मनोजको बानीका कारण पनि उनीहरूको दाम्पत्य जीवन टुत्र“mदैछ । वादविवाद यहाँसम्म हुन्थ्यो कि मनोज हातपातमा समेत उत्रन्थे । फागुन २६ गतेको रात पनि त्यस्तै विवाद भयो र मनोजले अञ्जुलाई पिटे । सधैंको झगडा र मनोजको शंका गर्ने बानीबाट आजित अञ्जुले अलग हुने निधो गरेपछि मनोज अहिले पछुतो मानिरहेका छन् ।
पारपाचुकेको बाटोमा
अञ्जुका दाजु गोपाललगायत आमा, भाउजू तथा सम्पूर्ण परिवारले अब अञ्जुलाई फेरि मनोजसँग नपठाउने निधो नै गरिसकेको अवस्था छ । शारीरिक पीडा कम भएपछि अञ्जु पुनः गायन क्षेत्रमा फर्किएकी छिन् । उनी चलचित्र तथा एल्बमहरूको गीतमा स्वर भनेर् देखि लिएर देशका विभिन्न भागमा भैरहेका कार्यक्रमहरूमा गीत प्रस्तुत गर्नमै व्यस्त छिन् । फरक यति मात्र छ— पहिले उनको साथमा मनोज हुन्थे भने अहिले परिवारका एक न एक जना सदस्य उनीसँग हुन्छन् । छोरी परितोषिका विद्यालयको परीक्षाका कारण कहिले आमा -अञ्जु) त कहिले बाबा -मनोज) सँग बसिरहेकी छिन् । मनोज आफ्नै घरमा छन् । अञ्जु मनोजसँगको सम्बन्ध सदाका लागि तोड्ने मनसायमा पुगिसकेकी छिन् । उनी अहिले एक कानुनविद् -वकिल) सँग सरसल्लाह पनि गरिरहेकी छिन् । यी दम्पतीसँग नजिक रहेका एक संगीतकर्मी भन्छन्- 'योभन्दा पहिले पनि त्यस्तो नभएको होइन । मनोजको यातना सहन नसकेर अञ्जु पहिले पनि माइत बस्न गएकी हुन् । यसपटकको घटना सायद गम्भीर छ, त्यसैले उनीहरू अलग हुन्छन् कि भन्ने लागे पनि पुनर्मिलनको कुरालाई पनि नकार्न सकिँदैन ।'

एक्लो प्रतिस्पर्धा

आफ्नै गीत पछि पर्छन् आफ्नै गीतसँग
अञ्जु पन्त, चर्चा पाउन सफल गायिका । धेरै अघिदेखि गीत गाउन थाले पनि दुई-तीन वर्षदेखि उनका अधिकांश गीत लोकपि्रय हुँदै गएका छन् । अचम्म त उनले गाएका गीत लोकपि्रय भैरहँदा अर्काे गीत रेकर्ड गराएपछि पहिलो गीतलाई पछि पार्दै उनकै नयाँ गीत लोकपि्रय हुने गरेको छ ।
दिल यो मेरो दिल, तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, सागरसरि चोखो माया, मन पराएँ माया लाएँ मैले के बिराएँ, भुनभुन बोल भमराको जस्ता लोकपि्रय गीत दिइसकेकी अन्जुका आपmनै गीतलाई पछि पार्दै उनका नयाँ गीत चर्चित बन्ने गरेका छन् । यसलाई उनी दर्शकको मायामात्र भन्न चाहन्छिन् । 'मैले हार्दा तिमी नै जित्छौं भने म हार्न तयार छु' पछिल्लो समयमा उनको यो गीतले चर्चा पाइरहेको छ ।
आफ्नो उमेर भन्न नचाहने यी चर्चित गायिका पन्तको जन्म दिन असार १० गते हो । उमेर लुकाउनैपर्ने उनको बाध्यता नबुझिए पनि गीत गाउँदा भने उनी खुल्छिन् र पसिनाले चट्चट् भएको अनुहारबाट पसिनाका थोपा हातले पुछ्दै भन्न पछि पर्दिनन्, 'मलाई गीतले नाम र दाम दिइरहेको छ ।'
कलिलो उमेरमै चर्चा र प्रशंसा बटुल्न सफल यी गायिकाको लक्ष गीतमै जीवन र यसको मूल्य खोज्नेछ । 'सांगीतिक फाँटमा चिनाउने प्रयत्न गरिरहेका संगीतकारसित सम्बन्ध राम्रो हुनुपर्छ, होइन भने गीत गाउन पाइँदैन,' यी गायिकाले खुलेरै भनिन्, 'मैले १४ वर्षदेखि गाउन थाले पनि धेरै पछि मात्र चर्चा पाएँ ।'
३ हजारभन्दा बढी गीत गाएको दावी गर्ने अञ्जु चर्चामा आएको भर्खरै हो । तेह्रथुमको आठराईकी आमा मनु तथा राजधानीको फर्पिङका विष्णुकी छोरी अञ्जुले केही अघि पति मनोजराजलाई अमेरिकामा छोडेर आएपछि उनी पनि बिदेसिने त होइनन्, श्रोता र उनका शुभेच्छुकहरू प्रश्न गर्न थालेका थिए ।
राम्रा गीत गाउने सोखले प्रायः रेकर्डिङ स्टुडियोमा भेटिने यी गायिकालाई देश र दुनियाँमा के भैरहेको छ पत्तो हुँदैन । कुनै दिन राम्रो गायिका बन्ने ध्याउन्नमा तड्पिएकी अञ्जुले २०५२ मा कृष्णमान डंगोलसित औपचारिक संगीत सिक्न थालेकी हुन् । 'मनुवा मन नै योगी बनाऊ' भजन रेकर्ड उनले डंगोलसितै गरेकी थिइन् । उनलाई संगीत र गीत सिकाउने डंगोलको मृत्यु भैसकेको छ ।
पन्तका अनुसार अहिले नेपालमा निर्माण हुने प्रत्येक चलचित्रमा उनका २ वटा गीत अनिवार्य रूपमा पर्छन् । एउटा गीतको सरदर १० हजार रुपैयाँ पारिश्रमिक थाप्ने अञ्जुले यही हिसाबमा अहिलेसम्म १ करोडभन्दा बढी कमाएको अनुमान गर्न सकिन्छ ।
चर्चित नबिर्से तिमीलाई सबैभन्दा धेरै डाउनलोड भएको उनको गीत हो । यो गीतले १ करोड रुपैयाँको व्यापार गरिसकेको छ । २०५४ मा गायनमा नेपाल प्रथम भएकी अञ्जुले एकल एल्बम गाथा र कम्पन बजारमा ल्याइसकेकी छिन् । उनको तेस्रो एल्बम ' कोसेढंुगा' हो । चलचित्रमा २०५६/ ५७ देखि गाउन थालेकी अञ्जुको अर्काे लोकपि्रय गीत 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ, समयले जवानी यो लुटेपछि आयौ' हो ।
नौ वर्षकी छोरी परिषोतिकाकी आमा अञ्जु पछिल्लो समय चर्चित गायक राजेशपायल राईमात्र उनको प्रतिस्पर्धामा आइरहेको बताउन पछि पर्दिनन् ।

No comments: