Friday, September 17, 2010

दाहालले उम्मेदवारी फिर्ता लिने

काठमाडौ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । एमाले अध्यक्ष झलनाथ खनालसंग शुक्रबार बिहान भएको भेटमा उनले त्यस्तो सहमति गरेका  छन् ।माओवादी र एमालेबीच प्रधानमन्त्री निर्वाचनका  लागि जारी प्रकृया अन्त्य गर्ने सहमति भएको छ  । काठमाडौको गैरीधारास्थित् एकघरमा माओवादी र एमाले शीर्ष नेतृत्वबीच भएको भेटमा दुई दलबीच तीन बुँदे सहमति भएको छ ।
प्रधानमन्त्रीका लागि जारी निर्वाचन प्रक्रियाले कुनै निष्कर्ष दिन नसक्ने निचोडमा दुवै दल पुगेका छन् । यस्तो अवस्थामा दाहालले उम्मेदवारी फिर्ता लिएर निर्वाचनमा भाग नलिने दुईपक्षबीच सहमति भएको छ । साथै प्रधानमन्त्रीका लागि नयाँ प्रक्रियामा जाने दुवै दलबीच लिखित सहमति भएको  छ ।
एमाले अध्यक्ष झलनाथ खनालले दुई दलबीच भएको सहमतिलाई पुष्टि गर्दै कान्तिपुरसंग भने-'अब नेपालको राजनीतिले नयाँ कोल्टो फेर्नेछ ।'
बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी उपाध्यक्ष बाबुराम भट्टराई लगायतका नेता पनि सहभागी थिए ।
यी दुई दलले वर्तमानको प्रकृया अन्त्य गर्न कांग्रेसलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने भएका छन् । काँग्रेसले फिर्ता नलिए वर्तमान निर्वाचन प्रकृया जारी रहने भएकाले त्यतिन्जेल एमालेले कसैलाई मतदान नगर्ने सहमति भएको स्रोतले जनायो ।
 प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ मा राजीनामा दिएपछि व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि सात पटक निर्वाचन भइसकेको छ । प्रधानमन्त्रीका दावेदार माओवादी अध्यक्ष दाहाल र काँग्रेस नेता रामचन्द्र पौडेल कसैले पनि सातौं पटक सम्म बहुमत ल्याउन सकेका छैनन् । एमाले र मधेशी दल तटस्थ बसेका कारण पटक-पटक भएको निर्वाचन परिणाम मुखी हुन सकेको छैन । आगामी निर्वाचन असोज १० गतेका लागि तोकिएको छ  ।

No comments: