Monday, September 20, 2010

सुन्धारामा मदिराको हाहाकार

काठमाडौं । असोज २ गते राती सुन्धारा क्षेत्रमा एकाएक मदिराको हाहाकार मच्चियो । कांग्रेस महाधिवेशनका प्रतिनिधिहरूलाई राखिएको सुन्धाराका होटलहरूमात्र मात्र होइन पसलहरूमा समेत मदिरा सकिएपछि ग्राहक तथा कांग्रेस कार्यकताहरू मदिरा खोज्दै न्यूरोड र भोटाहिटीतिर पसेका थिए । कांग्रेस महाधिवेशन शुरु हुनुभन्दा एक साता अघिदेखिनै काठमाडौंमा मदिराको खपत ह्वात्तै बढेको थियो । न्यूरोड, सुन्धारा, पुतलीसडक र बानेश्वर क्षेत्रमा मदिराको विक्री दोब्बरले बढेको रेष्टुरेन्ट व्यवसायी विष्णु श्रेष्ठले बताए । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि सुन्धारा, ठमेल, बागबजार लगायतका क्षेत्रका होटल बुक गरेको छ । सबैभन्दा बढी प्रतिनिधिहरू सुन्धाराका होटलहरूमा बसेका छन् । व्यवस्थापन समितिले विहानको नास्ता र विहान बेलुकाको दालभात तरकारी र मासु बाहेक अरु जे खाए पनि त्यो पैसा आफैंले तिर्नुपर्ने भनेको छ । तर अधिकांश महाधिवेशन प्रतिनिधिहरूको दालभात पनि उम्मेदवारहरूलेनै व्यहोरेको चर्चा पनि चलेको छ । सुन्धारा क्षेत्रका होटल गेष्ट हाउसमात्र होइन, डान्स र दोहोरी रेष्टुरेन्ट पनि कांग्रेस महाधिवेशन प्रतिनिधि र र्समर्थकहरूले भरिएका छन् । उम्मेदवारहरूले पत्रकारहरूलाई समेत 'राम रउस' गराइरहेका छन् । अधिकांश उम्मेदवारहरूले होटल होटलमै पुगेर मत माग्ने क्रममा एक दर्ुइ बोतल हि्वस्की हातमा थमाएर 'जय नेपाल' भन्दै हिड्ने गरेका छन् । महिला कोटामा उम्मेवार बनेकी रिता खनालले सुन्धाराको इम्पेरियल होटलमा सर्म्पर्क अड्डानै खोलेर मतदाताहरूलाई दिल मात्र होइन थैली नै खोेलेर स्वागत सत्कार, इच्छा भोजन गराएर चर्चित बनेेकी छिन् । 'मेरो पक्षमा यति सदस्य छन्' भनेर नगदवाला उममेदवारसंग एकमुष्ठ नगदको पोके बुझ्ने महाधिवेशन प्रतिनिधिहरू समेत देखिएका छन् । कतिपय महाधिवेशन प्रतिनिधिहरू आफू बसेको होटलमा राती सुत्न पनि नआउने र कतिपयले भने मध्यरातमा जोडी समेत लिएर आउने गरेपछि व्यवस्थापन गर्न गाह्रो परेको गुनासो होटल व्यवसायीहरूले गरेका छन् । 'यति धेरै मदिरा खपत भएको मैले अहिलेसम्म देखेको थिइन' सुन्धाराका एक होटल व्यवसायीले भने ।

No comments: