Thursday, September 23, 2010

सबै साइट ब्लक गर्न सकिँदैनसः आइएसपी

काठमाडौ, इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले सबै अश्लील वेबसाइट बन्द गर्न नसकिने बताएका छन् । तर केही अश्लील साइट पहिचान गरेर बन्द गर्न आग्रह गरे आफूहरूले बन्द गरिदिने बताएका छन् । यसबाट सबै अश्लील साइट बन्द गर्ने सरकारी योजना अन्योलमा परेको छ ।
भदौको पहिला सातामा आइएसपीलाई लाइसेन्स दिने अधिकार पाएको नेपाल दूरसञ्चार प्राधिकणले अश्लील साइट बन्द गर्ने उद्देश्यका साथ सर्त संशोधन गरेको थियो । अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेको अवस्थामा सरकारले अनुपतिपत्रको सर्त संशोधन गरेको हो । तर आइएसपी एसोसिएसनले त्यसमा गरिएको व्यवस्था तत्काल पूरा गर्न नसकिने जनाएको हो । उनले छलफल नगरी सर्त लाद्न नहुने बताए ।
सर्त संशोधनपछि प्राधिकरणले 'फिल्टरिङ सफ्टवेयर' राखेर अश्लील साइट बन्द गर्न भनेको थियो । तर कम्पनीहरूले यो आर्थिक र प्राविधिक रूपमा कठिन भएको पत्र प्राधिकरणलाई पठाएका छन् । कानुनतः प्राधिकरणले सर्त संशोधन गरेको १५ दिनभित्र सेवा प्रदायक कम्पनीले आफ्नो धारण राख्न सक्ने व्यवस्था छ ।
'हामीले प्राधिकरणलाई फिल्टरिङ सफ्टवेयर राखेर साइट रोक्ने बाध्यकारी व्यवस्था नलाद्न पत्र पठायौं,' आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराले भने, 'यसबारे छलफल गरेर मात्र थप निर्णय गर्न भनेका हौं ।' फिल्टरिङ सफ्टवेयरले सबै साइटको अश्लील सामग्री छानेर बन्द गरिदिन्छ । अझ यसले साइट मात्र नभई साइटभित्रका अश्लील पेज, पेजभित्रका केही सामग्री र फोटो पनि ब्लक गर्छ ।
फिल्टरिङ सफ्टवेयर राख्न भनिए पनि यसको आर्थिक र प्राविधिक भार, सफ्टवेयर कसरी र कहाँबाट ल्याउने भन्ने बारे पनि छलफल नभएको उनले बताए । फिल्टरिङ सफ्टवेयरसँगै हार्डवेयर पनि आवश्यक पर्ने उनले बताए । यसको मूल्य न्यूनतम २ लाख पर्छ ।
'हामी दुई चार बेबसाइटको आइपी तत्काल बन्द गर्न सक्छौं,' बोहोराले थपे, 'तर सबै साइट १५ दिनमै बन्द गर्न सक्दैनौं ।' यस्तो सफ्टवेयर प्रयोग गरिरहेको चीनले पनि आर्थिक भार बढी भएकाले यो बिस्तारै हटाउन थालेको उनले बताए ।
बोहोराले तत्काल यो केही हदसम्म यो साइट बन्द गर्न ग्राहकहरूलाई टेरोन्टोर कन्ट्रोल सफ्टवेयर निःशुल्क उपलब्ध गराउन भने आफूहरू तयार रहेको बताए । यो सफ्टवेयरमार्फत उपभोक्ताले नै सामान्य सामग्री रोक्न सक्छ ।
अर्को एक आइएसपी कम्पनीका अधिकारीले चाइल्ड पोर्नोग्राफी साइटहरूलाई पहिले बन्द गरेर बिस्तारै अन्य साइट बन्द गर्नुपर्ने बताएका छन् । उनले सबै आइएसपी कम्पनीको पहुँच फिल्टरिङ सफ्टवेयरमा त्यो भए/नभएकामा पनि ध्यान दिनुपर्ने बताए ।
प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले १५ दिनभित्र आइएसपी कम्पनीले आफ्नो धारणा राखेकाले यसबारे अध्ययन भइरहेको बताए । 'उनीहरूले एकैपटक सबै बन्द गर्न नसक्ने बताएका छन्,' उनले भने, 'आइएसपीसँग छलफल भइरहेको छ ।'
मुलुकमा ४२ आइएसपी कम्पनी, नेपाल टेलिकल र एनसेलका लागि यो सर्त लागू हुनेछ । टेलिकमले एडिएसएल र जिपिआरएस र एनसेलले जिपिआरएस इन्टरनेट सेवा दिएको छ ।
खुला रूपमा साइबर क्याफे र घरघरमा अश्लील साइटको प्रयोग बढ्दा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको भन्दै केही महिनाअघिबाट गृह, विज्ञान तथा प्रविधि र प्राधिकरणले यसका लागि गृहकार्य सुरु गरेका थिए । विश्वमा ३० देखि ४० प्रतिशत प्रयोगकर्ताले यस्ता साइट चलाउँछन् ।

No comments: